लस एन्जलस । यस वर्षको मार्चमा सम्पन्न अस्कर समारोहमा फिल्म ‘द ब्रुटालिस्ट’का लागि उत्कृष्ट अभिनेताको पुरस्कार जितेका एड्रियन ब्रोडीको कामले एआईको प्रयोगलाई फेरि एक पटक चर्चाको विषय बनाएको छ। फिल्ममा हंगेरी भाषाको संवाद बोल्दा उच्चारण सुधार गर्न जेनेरेटिभ एआईको प्रयोग गरिएको थियो, जसले यस प्रविधिको उपयोगिताबारे नयाँ बहस सुरु गराएको छ।
त्यसैगरी, आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को सहयोगमा निर्माण गरिएका चलचित्रहरूले अब अस्कर अवार्डको शीर्ष पुरस्कार जित्न सक्ने सम्भावनालाई थप प्रष्ट्याइएको छ। अस्कर आयोजक एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले सोमबार जारी गरेको विज्ञप्तिमा यसबारे जानकारी गराइएको छ।
नयाँ नियमहरूको घोषणा गर्दै अस्करले भनेको छ, ‘एआई र अन्य डिजिटल उपकरणहरूको प्रयोगले अस्करमा मनोनयन पाउन या नपाउन कुनै प्रभाव पार्दैन। यसले न त स्वीकृति पाउने संभावना बढाउँछ, न त कम गर्छ।’
यो कदमले एआई प्रविधिमा आधारित चलचित्रहरूको भविष्यलाई थप व्यापक बनाउँदै चलचित्र उद्योगमा नयाँ सम्भावनाहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ। विज्ञप्तिमा उल्लेख गरिएअनुसार, एआईको उपयोगिता र यसको सीमाहरूलाई ध्यानमा राख्दै अस्करले निष्पक्षताका आधारमा निर्णय गर्ने बताइएको छ।
यस प्रकारका नयाँ नियमहरूले चलचित्र निर्माताहरूलाई प्रविधिको नवीन प्रयोग गर्न प्रोत्साहित गर्ने, तर परम्परागत कलात्मक मूल्यहरूलाई समेत सम्मान गर्ने वातावरण निर्माण गर्ने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस