पछिल्लो केही दशकयता पृथ्वीमाताको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ। जलवायु चक्रमा आएको असन्तुलनले अतिवृष्टि, अनावृष्टि, हिउँ नजम्ने समस्या, बालीनालीको नोक्सानी, जैविक विविधताको ह्रास र मानव स्वास्थ्यमा प्रत्यक्ष असर पुऱ्याइरहेको छ। यी सबै लक्षणहरूले पृथ्वीलाई ज्वरो आएको संकेत गर्छन्।
तर, ज्वरो आफैं कुनै रोग होइन, बरु कुनै गहिरो समस्याको लक्षण मात्र हो। पृथ्वीलाई यो ज्वरो किन आएको हो भन्ने पत्ता लगाएर मात्र यसको उपचार सम्भव छ। जलवायु परिवर्तनको प्रभावलाई रोक्नका लागि गहिरो अनुसन्धान र ठोस कदम आवश्यक छ।
यही सन्देशलाई विश्वसामु पुऱ्याउन नेपाल सरकारले आगामी २–४ जेठ २०८२ मा ‘सगरमाथा–संवाद’ नामक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्दैछ। यस सम्मेलनले जलवायु परिवर्तनले निम्त्याएको संकटलाई विश्वमञ्चमा राख्ने मात्र होइन, समाधानका ठोस उपायहरूको खोजीमा केन्द्रित हुने अपेक्षा गरिएको छ।
यद्यपि, यस्तो सम्मेलन केवल छलफल र सामान्य समाधानमा सीमित हुनुहुँदैन। यो सम्मेलनले जलवायु परिवर्तनका कारणहरूको गहिरो अध्ययन गर्ने, विश्वव्यापी सहकार्यलाई प्रोत्साहित गर्ने र दीर्घकालीन समाधानका दिशामा अगाडि बढ्ने आधार तयार गर्नुपर्छ। सगरमाथाको फेदबाट विश्व समुदायलाई जलवायु संकटको गम्भीरता महसुस गराउन यो सम्मेलन मीलको पत्थर बन्न सक्दछ।
प्रतिक्रिया दिनुहोस